Pages

Wednesday, October 31, 2012

कविता



जिउने सँगै रहर उसको रहरै हुनेछ 
बुझन प्रभु म बिना त्यो त ठहरै हुनेछ 

फूलको थुंगा झैं गरि राख्छ उसले शिरमा 
को हुन्छ यस्तो जीवनै दिने दुख र पिरमा 

मान्छेको जुनी दुई नै दिनको लैजानु के छ र 
रुवाई मार्नु भन्दा त राम्रो बाँच्नु हँ'सार 

मागेछ उता यी हात यता दिन म सक्दिन 
जे भन्छौ मान्छु कसैको अरु हुन म सक्दिन 

खोसे लौ खोस यो मेरो प्राण म उसको संसार 
ऊ माथि धोका दिएर अन्त हुँदैन पियार 

Monday, October 8, 2012

कविता


बादलभित्र कहिले बाहिर 
लुकामारी खेलिरहँदी हो जून 
लाखौं तारा झिलमिल झिलमिल 
झिल्मिलाइरहँदा  त 
बाफ्रे !
त्यो मध्यरातमा 
त्यो सिङ्गै आकाश 
कति रमाइलो देखिँदो हो 
तिम्रो काखबाट हेर्दा 

Thursday, September 13, 2012

कविता

                                बिछोड रमाइलो छ 

अतित सम्झेर हाँस्न पाइन्छ
दुखाएर मन रुन पाइन्छ 
सम्झनामा हराउन पाइन्छ 
त्यसै कहाँ हुने हो र 
बिछोड रमाइलो  

तिमी सोच्छौ
अब 
धर्ति नै उल्टिन्छ कि 
आकास खस्छ कि 
त्यस्तो कहाँ हुन्छ ?
छुट्टिनु भनेको 
झन् मायाँ गर्नु होइन भने 
तिमी पनि मुटु छामी हेर त  

एउटा मीठो कल्पना हुन्छ 
सँगै भएको आभाष हुन्छ 
मिलनमा त्यो 
सम्भव होला नहोला 
मायाँ नै बराबर होला नहोला 
त्यसैले त बिछोड प्यारो छ
बिछोड रमाइलो छ  

Wednesday, September 12, 2012

हाइकु

फुर्ला जस्तो भो 
अनि फेरी हरायो 
मेरो कविता

Monday, September 3, 2012

कविता





कति लेखियो 
कति बोलियो 
दुनियाँकै बारे 
अफसोच छ मलाई 
तिमीले दिएको मायाँको 
बर्णन मैले कहिल्यै गर्न सकिन 

तिम्रो मायाँले 
मलाई चकित बनाउँछ 
दुइटा थोप्लो र ओ जस्तो 
अनि 
यति प्रफुल्लित 
म सक्दिन त्यसको पनि बर्णन गर्न 

मेरो कमजोरी भने भन 
तिम्रो मायाँ 
म ब्यक्त गर्न सक्दिन 
सायद त्यहि भएर होला 
आज पनि 
तिमी देख्ने बित्तिकै 
झ्याप्पै अँगालो हालूँ 
जस्तो भएको छ 

Friday, August 31, 2012

गजल

 




       भूल नगर 


                                             

बनावटी सुगन्धको फूल नछर
मलाई सम्झी धाउने भूल नगर 

आफ्नो भन्नै नमिल्ने हौ तिमी पराई
ज्यानै दिने कुराको कबुल नगर 

जानु छ अलग्गै बाटोमा तिमी पनि 
व्यर्थमा त्यो मन चुलबुल नगर 

बनावटी सुगन्धको फूल नछर
मलाई सम्झी धाउने भूल नगर 

Sunday, August 19, 2012

हाइकु

सुर्ता नगर 
तिमी कवि बनौली 
म हूँला पागल 

Saturday, August 18, 2012

कविता

सम्झिनु त यसरी पो                                   

    


मलाई थाहा छ ,
उसले मलाई सम्झिनुमा 
कुनै बाध्यता छैन 
न कि एक्लो भएर
अथवा,
 फुर्सद भएर 

उसको सम्झाई 
सम्झेर मलाई 
यति रमाइलो हुन्छ 
कि मैले पनि
ऊ बाहेक
 सम्झिनै पर्ने केहि छैन 

हिंड्दा हिंड्दै बाटोबाट 
कहिले मेसेज आँउछ 
सम्झेछु भनेर 
कहिले चिया पिंउदै 
काम गर्दा गर्दै कहिले 
अनि , 
कहिले गफ गर्दा गर्दै 
बीचैमा मिस यु भनेर 
कहिले मिस यु भन्ने मेसेज
 लेख्दा लेख्दै मिस्सेछु भनेर 

मनै भित्र गुदगुदी लगाउने 
उसको सम्झाई
जब म सम्झन्छु 
ऊ मात्रै हुन्छ आँखामा ,
लाग्छ संसारमा 
ऊ बाहेक कोही छँदै छैन 

Friday, August 17, 2012

गजल

        सपनाको मायाँ 

                                  

गरि छाड्ने चाहनाको मायाँ तिम्रो भन्दा 
मलाई मेरो सपनाको मायाँ तिम्रो भन्दा 

ईख ठूलो हुँदो रैछ सारा संसारमा 
दुखी यही भावनाको मायाँ तिम्रो भन्दा 

दुख्दा मुटु आँखामा आँशु नओभाँउदा  
गरेका ती कल्पनाको मायाँ तिम्रो भन्दा 

गरि छाड्ने चाहनाको मायाँ तिम्रो भन्दा
मलाई मेरो सपनाको मायाँ तिम्रो भन्दा 

हाइकु

सपना तिम्रो 
ऐंसेलुको फूलमा 
सुन साट्ने 

Tuesday, August 14, 2012

कविता

हावाको वेग के होला त्यस्तो आएथ्यो उडेर 
जान्छु नि छैन जान्न नि छैन गैगयो छोडेर 

कति हो कति गरेको जस्तो मायाँ नै पवित्र
सकिन बुझ्न रचेको रैछ नाटक बिचित्र

न चिनाजानी न देखादेख झुल्केको त्यो दिनै
भन ए पापी पठाथ्यो कसले बदला यो लिनै

सम्झिंदा मुटु भक्कानो फुट्छ उसैको यादमा 
नरोई दिन कटेको छैन रोएछु रातमा 

नराम्रो मैले गरेको भए परोस रून मै 
होइन भने हे दैब उहाँ रुवाऊ मेरो झैं 

Thursday, August 2, 2012

गजल

खाली खाली जस्तो 


सबै मान्छेहरु झुटा झुटा जाली जाली जस्तो 
एउटै तिमी नहुँदा कति खाली खाली जस्तो

यति फिक्का र खल्लो भएको छ जीन्दगी यो
बिना टीका सजाइएको थाली थाली जस्तो 

बिष नै ओकले नि अमृत लाग्दो हो तिम्रो त 
पराइको मीठो बोलि पनि गाली गाली जस्तो

मरेछु कि जिउँदै छु थाहै हुन्न कहिलेकाहीँ
हाँगै भाँची छोडेको त्यो डाली डाली जस्तो 

सबै मान्छेहरु झुटा झुटा जाली जाली जस्तो
एउटै तिमी नहुँदा कति खाली खाली जस्तो 


Saturday, July 28, 2012

गजल

छर्यो भन्दै जूनले ज्योति जूनलाई कोहि छर्दैन 
बाँच्छ जो अरुको लागि आफ्नो लागि मर्दैन

सके दिनु तिमीले चाहिँ नसके नदिनु 
राखेर आशा पनि कोहि मायाँ गर्दैन 

तिम्रो मनको तिमी जस्तै राजा म मेरो मनको 
खुशी हुँदा बोल्नु बेखुशीमा भए पर्दैन 

उम्लेको छ मायाँले मुटु जम्मै तिम्रो लागि 
चाहन्छु होस् यस्तै उता हुनेहार त टर्दैन 

छर्यो भन्दै जूनले ज्योति जूनलाई कोहि छर्दैन
बाँच्छ जो अरुको लागि आफ्नो लागि मर्दैन 

Tuesday, July 24, 2012

कविता

{ झ्याउरे लोकलयमा लेख्ने प्रयास } 
शीर्षक के राख्ने होला ?? 

...................................................
के जादू टुना छ तिमीसँग भनन नढाँटी
बौलाही भएँ म तिमीलाई देखेको दिनदेखि 

पहिलो भेटमै के भन्न सक्थेँ भन्न त खै मैले 
शरम हुन्थ्यो लाजले कठै ढल्छु कि अहिले 

आँखामा आँखा जुधाउन खोज्थ्यौ तिमीले जसरी 
जान्छ कि प्राण झैं गरी मुटु धड्कन्थ्यो बेस्सरी 

मागेको भए दिन्थेँ कि बरु जोबनै हजुर 
चोरेर लग्यौ दिल यो तिमीले भएँ म बेसुर 

जहाँ म जाऊँ देख्दछु तिम्रै तस्बिर हाँसेको 
हाँसेरै मार्ने बिचार हो कि पिरती गाँसेको 

Thursday, July 12, 2012

कविता


भुल्दै सम्झिँदै 


म, 
जवाफ खोजिरहेछु 
भुल्नुसँग सम्झनुको 
के नाता रहेछ ?
मैले फालेँ, मेटाएँ
उसको याद आउने चिज 
केहि छैन ,
कहिँ छैन 
साँच्चै भनूँ भने 
देख्नै नचाहेर 
म अलग्गिएं उसबाट । 

हो, त्यहि दिनदेखि 
ऊ मेरो 
सम्झनामा आउँछ 
म बेस्सरी सम्झिदिन्छु 
कति भनेर सवाल नगर 
म आफैं जवाफ खोजिरहेछु 
रोइदिन्छु , हाँसिदिन्छु 
उसैलाई सम्झेर 
किनकि ,
म उसलाई अब भुल्न चाहन्छु 

उफ् ! फेरी सोच्छु 
मैले उसलाई भुलेको 
कि सम्झेको ?
के भुल्नु पनि सम्झनु हो र ?
कि सम्झनु चाहिँ
भुल्नु हो ?
म जवाफ खोजिरहेछु 

गीत

सातै रङ्ग इन्द्रेणीको झैं जीन्दगानी 
कसम त्यो हाँसोको म हुँ दिवानी 

जून जस्तै देखिन्छौ त्यो माथि सगरको
मुस्काउछौ जब पीडा छोपी अधरको
तिमीले हाँसे उजेलिन्छ अँधेरो कुना नि  
कसम त्यो हाँसोको म हुँ दिवानी

फूल राम्रो सबैभन्दा भन्न त भन्छन्
फूल भन्दा नि राम्रो तिम्रै हो मुस्कान 
हाँसेरै कति पागल बनायौ बेइमानी 
कसम त्यो हाँसोको म हुँ दिवानी 

सातै रङ्ग इन्द्रेणीको झैं जीन्दगानी
कसम त्यो हाँसोको म हुँ दिवानी 

Monday, July 9, 2012

हाइकु

नजुधाऊ आँखा 
ल्याउन मिल्दैन फेरी 
गएको परान

Saturday, July 7, 2012

कविता


 आऊ फेरी मायाँ गरौँ

त्यो बेला 
तिमीलाई पनि
मेरो मायाँ लागेकै हुनुपर्छ 
नभए कसरी  " तिमी "
भन्नै छोडेर मेसेजमा 
 " तँ " लेख्यौ  त ?

तिमी बोल्दैनौ 
भेट्दैनौ, खोज्दैनौ 
मलाई 
लाग्छ चिनेकै छैन 
बोलेकै छैन,
म नहुनुको गुनासो छैन 
अभाव छैन मेरो 
म त यहि सोध्छु 
कसरी भुल्यौ हँ ?

परानको टुकुरी
मायाँको पोकी 
भन्थ्यौ हैन !
खै त तिम्रो परान 
खै त तिम्रो मायाँ ?
बाँची कि मरी 
सोध्न पनि त सोधेनौ 
म रिसाँउदा
गल्ति भएछ कि 
सम्म सोचेनौ 
पश्चाताप गरेनौ 
फकाएनौ पनि त 

अनि ,
फेरी किन सम्झे झैं गर्छौ
मायाँ लागे झैं गर्छौ 
तिमीले "गुडनाइट"
भन्दैमा रात शुभ हुने भए ,
खै त यत्तिका दिन भनेनौ 
अँध्यारो मुख लाउँदैमा 
कसरी बुझ्नु दुखी छौ भनि 

आखिरमा ,
मायाँको त महशुस हुँदो रहेछ
याद पनि त गर्दो रहेछौ
अनि के 
सधैं मैले भन्नु पर्ने 
आऊ न त मायाँ गर्छु भन 
फेरी त्यसै गरी,
आइ लव यु अन्ठानब्बे करोड 
हेहे ... आऊ फेरी मायाँ गरौँ  

Tuesday, June 26, 2012

कविता


[ अनुष्टुप छन्दमा लेख्ने सानो प्रयास ] 
   ................................................             
तिमी निको हुँदै गयौ ,अनि दुख्न म थालेछु ,
मुक्त भयौ जहाँ तिमी, त्यहाँ डुब्न म थालेछु   
धेरैबेर तिमी पनि, उड्यौ होला कताकता ,
उस्तै नै छौ भने आज ,फर्क मेरा मनका राजा  

फूल बास्ना बिना कस्तो , म छु तिमी बिना त्यस्तो ,
आयो मायाँ पलाएर , अँगालोमा कसौं जस्तो   
तिम्रो निरास जीन्दगी, बन्छ भने हराभरा ,
सोचेकी छु तिमी संगै , दुख सुख बराबर  

Friday, June 22, 2012

गीत

खुशीले के गरूँ के गरूँ भो आज 
भोलि मेरा आउने रे मनका राजा 

निदाएर सुटुक्कै देखूँ कि सपना 
सम्झिएर रातैभरि गरूँ  कल्पना 
गाह्रो भो कसरी बिताऊँ यो साँझ 
भोलि मेरा आउने रे मनका राजा 

फूल भए फुलिदिन्थें बाटैभरि 
म उसको स्वागत गरूँ कसोगरी 
आशाको दियो बल्यो निराशाको माझ 
भोलि मेरा आउने रे मनका राजा 

खुशीले के गरूँ के गरूँ भो आज 
भोलि मेरा आउने रे मनका राजा 

Friday, June 15, 2012

कथा

      त्यसपछि म पनि जागिरे भनेका दुइजना दाजुहरुको आडमा बाँच्न थालें यस्तै थियो बुवाको आम्दानीले नभ्याउने भएपछि दाजुहरुको आशामा बस्नु हाम्रो विवशता थियो र ठूलाले सानालाई हेर्नुपर्छ भन्ने परिपाटी पनि थियो झैं लाग्छ । अहिलेका यी दाजुहरु पनि आफ्नो पालामा खुबै दुख पाएको कुरा आमाले भनिरहनुहुन्छ । म सानै हुँदा देखेका सुनेका ती पारिवारिक कुराहरु सम्झिंदा त्यतिखेरदेखिकै पीडा आज पो सहन नसक्नेगरी दुख्न थालेको छ  । 
       यति भनेपछि उसले मलाई हेरी । उसको आँखामा आँशु देखेको यो पहिलो पटक । ऊ रोई म दुखें । हाम्रो आत्मियता थियो बर्षौं पूरानो । हामी धेरै पूराना साथी । सबै कुरा मलाई थाहा छ म यहीं सोच्थें । दुख सुख कसलाई हुँदैन तर त्यहि सुखी जस्तो देखिने हाँसो भित्र पनि बेदनाहरु लुकेका छन् भन्ने कुरा मलाई पत्तै भएन । ऊ भन्न थालि - यसपाली मलाई तिहारमा जान मनै लागेको छैन । यो सुन्ने बित्तिकै मलाई नराम्रो लाग्यो सार्है ढिपी गरें तिमीले जानुपर्छ भनेर । तर आँखाभरी आँशु बनाउदै उसले पनि आफ्नो जिद्धि  छोडिन। किन जाने ? यति भन्नेबित्तिकै उसले अरु केहि भन्न सकिन, रोकिराखेको आँशु एकैचोटी पोखियो । म पनि महशुस गर्न सक्थें यस्तो निर्णय ऊ बिनाकारण गर्दै गर्दिनथी । भन्दै गई किन जाने ? कसको लागि जाने ? तिमीलाई थाहा छ आजकल मेरा दाजु म संग बोल्दैनन्। अब ऊ पूरै रोएर भन्न थालि मैले के गरें त्यस्तो म संग बोल्ने नहुने ? भन् मैले के गरिन मेरा दाजुको लागि । मैले जे गरें,गरिन तर मेरा दाजु यस्ता होलान् भन्ने मैले कुनै दिन सोचिन 
     हो , मैले मनमनै सहमति जनाएँ । पोहोरसाल दाजुको बिहेमा कत्रो खुशी कत्रो चुरुफुरु , के के न होला जस्तो , के के न पाउँला जस्तो । भन्थी पनि मेरा दाजु बिहे पछी त के कहिले पनि परिबर्तन हुदैनन् । दुई दुई दिनमा फोन आउथ्यो के खाइस्, खाजा के छ , ल्याएर टन्न राख् , टन्न खा , कति दुब्लाकी अलि मोटा , जाडोमा लाउने कपडा छ कि छैन , भाउजुले के भने , दाजुले के भने , कसैको चिन्ता नली,तेरो लागि म छु । उसले सुनाएका यी कुराहरु सम्झेर मेरो पनि यसपटक भक्कानो फुट्यो । आफूलाई सम्हाल्न खोजें तैपनि आँशु रोक्ने सकिन । ऊ भन्न थाली मेरो दाजुले बिहे भन्दा ४/५ महिना अगाडी जुनबेला मैले कोठा लिएकी थिएँ पहिलोपल्ट सबै भन्दा बढी पैसा दिएको र त्यसपछि के भनू ...कसरी चलाएँ बितेको समय कल्पना गर्न नसकेरै बितेका छन्  । तर पनि गुनासो थिएन , तेरो लागि म छु भनेकाले आँखा चिम्लें , यतिकै भएपनि पुग्छ -बाँच्छु भनेर मन दह्रो बनाएकी थिएँ । तर , तर आज ५ महिना भयो जाँदै आउंदै त गर्छु पैसा छ कि छैन भनेर सोध्लान् भन्छु कुनै पल्ट सोधेनन् । भन् मलाइ एक रुपैयाँ पनि कहांबाट आउछ भन् , उसको  छुवाईले मलाई पनि गाह्रो भयो 
    यसपालिको दशैं पनि सार्है अँध्यारो लाग्यो , सार्है आतिएँ, सार्है निरास लाग्यो ।बुवाआमाको आशा गर्ने बानी परेन , पैसा छैन भनेर जस्तै हुँदा पनि भनिएन तर यसपटक मैले बुवालाई सम्झें , बुवा पैसा चाहियो भन्न मन लाग्यो त्यो रात यति रोएँ शायद त्यो रातको जस्तो नमीठो रुवाइ जीन्दगीमा फेरी रुंला नरुंला । आँशु पुछ्दै उसले भनि मेरो दाजुको हरेक खुशीमा खुशी हुँदै आएँ  मलाई परिवारको सबै सदस्यहरुमध्य आशा लाग्ने , मनको कुरा बुझ्ने उही एउटा दाजुलाइ सम्झेकी थिएँ  सार्है मायाँ गरेको जस्तो पनि लाग्थ्यो खै त्यो मायाँ ! खै त्यो दाजु ?  अवरुद्ध गलाबाट निस्केको उसको यो दुई वाक्यले मेरो मन अमिलो भएर आयो  तिहार  चाडपर्बको बेला आफ्नो घर ,आफ्ना मान्छेको सम्झना हुँदोरैछ , अरुबेला त जसो तसो बसिन्थ्यो , सार्है गाह्रो भको छ  सबैले सोध्छन कहिले जाने , किन नगको यो प्रश्नको जवाफ म कसरी दिउँ? 
    धेरै कुराले मन दुखिरह्यो तर जब सयपत्री , मखमली फूल हेर्न थाल्छु अनि जाउँ जस्तो लाग्छ । मलाई पनि मेरा दाजुलाई तेलको घेराले छेकेर फूलमालाले पुजेर सुखशान्तिको कामना गर्ने किन रहर छैन ? तर म जति भावनामा डुब्छु त्यति रुन्छु , अस्ति पनि नजाने निर्णय गरेकी थिएँ , गएँ त्यसको बदलामा मेरा दाजुले आजसम्म रुवाइरहे । किन बैनीको मायाँ लाग्दैन , भाउजुले लगेपछि हामी दाजुको अवशेष केहि पाउदारहेनछौं । यो सम्झिदा त आफूलाई पनि कसैको भाउजु बनाउने रहर हराएर जान्छ । उसले भाउजु भन्नेबित्तिकै धेरै कुरा मनमा आए , एउटा कुरा सोधुँ सोधुँ जस्तो लागेको थियो तर ममा त्यो सहासै भएन शायद ऊ पनि केहि भन्नै चाहन्नथी 
    दाजुभाई भनेका बिहे नहुन्जेलसम्म मात्रै आफ्ना हुँदा रैछन तर हामी उनीहरु बिना अधुरै रहन्छौं । कस्तो फरक रहेछ , कस्तो म हुदोरहेछ । मेरो यो शहरमा हिड्ने र बाँच्ने आधार नै सकिए जस्तो लाग्छ । यतिखेर मैले उसको आँखामा आँशु देखिन , शायद रुनुको पनि सीमा हुन्छ होला । ऊ भन्दै गई मेरा दाजु सार्है बुझ्ने हुन् , मनै भित्रको कुरा पनि अड्कल काट्न सक्ने । त्यस्ता मान्छेले बेवास्ता किन गर्छन् र कसरी गरे ? सोचिरहने पर्दैन ।यो बिरानो सहरमा एकदिन कति गाह्रो ,पांच महिना कसैको वास्ता बिना बाँचें र अब त लाग्छ म एक्लै पाचै युग बिताउन सक्छु । दाजु बहिनीको स्नेहमा फुल्दोरैच मखमली ,सयपत्री , स्नेह नै नभए के को चाडपर्ब , के को फूलमाला के को आशिर्बाद के को हाँसो खुशी , के को चुरुफुरु । उसले यसो भानिरंदा मैले आफ्नो चित्त पनि बुझाइसकेकी थिएँ , मेरी आमाले धन्य ! मलाई दाजु भाइ दिनुभएको थिएन । 
                                                                                                      २०६५-७-१२ 

Thursday, June 7, 2012

कविता

       के उपमा दिऊँ     

भगवानको कलाकारिता देखेर 
एकछिन त म पनि छक्क परें,
बर्षौं लगाएर कुँदिएको 
मूर्तिकारको  मूर्ति थियो कि 
फूल थियो सुन्दर बगैंचाको 
आकास हेर्दा देखिने तारा थियौ कि 
जून खस्यो धर्तीमा !
के उपमा दिऊँ 
कुन शब्दले तारिफ गरूँ 
अवाक् रहेँ म 

तिमी हिंड्दै थियौ 
मेरो आँखाको अगाडिबाट 
Add caption
मानौं, मेरो आँखैभित्रबाट 
तर
तिमीलाई मैले कैद गर्न सकिन 
म चाहन्थें ,
तिम्रो तारिफ कमसेकम 
म गर्न सकूँ
या तिमीले सुनिदेऊ 
फेरी, त्यस्तो सम्भब कहाँ थियो 
म अझ मौन हुनुपर्थ्यो 
यतिसम्म कि तिमीले 
फर्केर हेरिदिंदा मेरो 
आँखा नजुधोस्,
म हुर्केको संस्कारले दिएन
मेरो दिमागले दिएन 

नत्र 
के चुप रहन्थ्यो ?
त्यो केटा, जसको आँखाबाट 
एउटी सुन्दरी हिंडिरहेकी हुन्थी,
तिमी त आयौ गयौ 
के फरक पर्यो होला र 
मलाई भने 
आफ्नो सुन्दरताले मर्माहत 
बनाइदियौ 
हो साँच्चै ,
हलचल भएको छ मन 

Saturday, June 2, 2012

गजल

आफैंलाई मिटाई मायाँ गर्ने मैं उस्ती 
होइनौ बेइमान तिमी भर पर्ने मैं उस्ती 

फूल सम्झी शीरमा सजाउँला भन्थे कति 
तिम्रै लागि भनि पाउमा झर्ने मैं उस्ती 

छेउमै घडा अमृत थियो वास्ता भएन
एकै थोपो बिषको लागि मर्ने मैं उस्ती 

हाँसेरै दिन काट्थें होला एक्लै बरु म 
कठैबरा यी आँखामा आँशु भर्ने मैं उस्ती 

आफैंलाई मिटाई मायाँ गर्ने मैं उस्ती 
होइनौ बेइमान तिमी भर पर्ने मैं उस्ती 

Wednesday, May 30, 2012

गजल



मनभरी तिम्रो मात्रै तस्बिर छाउन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

एक्लो बनाएर तिमीले कहिले छोडी जाँदाखेरी 
मलाई साथी गुमेको भान हुन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

छैन भनि तिम्रो मायाँ अभिनय कति गर्नु 
बिछोडमा यहाँ मेरो मन रुन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

तिम्रो चाहनाले भोलि पर्सि मलाई सताउंदा
आत्माले नै तिमी आफ्नो बनाउन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

मनभरी तिम्रो मात्रै तस्बिर छाउन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

गजल

गए झैं भो माथि तलै झार्यौ आज 
फेरी यो शहरमा एक्लै पार्यौ आज 

कसरी खानु बस्नु हिड्नु तिमीबिना 
सम्झिएर रुन्छ मन जिउदै मार्यौ आज 

तिमी त रमझममा छैनौ होला यस्तो 
मलाई सहि नसक्ने व्यथा सार्यौ आज 

सोच्न नै सक्दिन छोडी गयौ भनेर 
बाध्यताले म हारें तिमी हार्यौ आज 

गए झैं भो माथि तलै झार्यौ आज 
फेरी यो शहरमा एक्लै पार्यौ आज 

Friday, May 25, 2012

गीत


पहिले पहिले जस्तो मायाँ लाग्यो कि लागेन
टाढा बस्दा मेरो याद आयो कि आएन


पानी बिना माछाले झैं बस्न नसकेर
आऊ भनुँ भनुँ लागेथ्यो सबै भुलेर
मलाई जस्तो तिमीलाई भयो भएन
टाढा बस्दा मेरो याद आयो कि आएन


छुटेको तिमीसंग सोच्दा घरीघरी
सम्हालिनै नसकेर रुन्थें रातैभरि
त्यतिखेर तिम्रो मन रोयो कि रोएन
टाढा बस्दा मेरो याद आयो कि आएन


पहिले पहिले जस्तो मायाँ लाग्यो कि लागेन
टाढा बस्दा मेरो याद आयो कि आएन



गीत




हाँस्ने र हँसाउने रुने रुवाउने 
आए गए कति यो मन छुवाउने 
तर भयो महशुस मायाँको आज 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 


तिम्रो रुप देखी तारिफ कसको गरुम भो 
भगवानको पाउ परुम कि तिम्रै परुम भो 
छिनको छिनमै यो दिलमा गरिगयौ राज 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 


अचम्म भो फूल हेरें कि त्यो मुस्कान हेरें मैले 
मायालु मनै मन अंगालोमा बेरें मैले 
लेखेको थियो सायद भेट हुन यो साँझ 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 


हाँस्ने  र हँसाउने रुने रुवाउने 
आए गए कति यो मन छुवाउने 
तर भयो महशुस मायाँको आज 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 

Thursday, May 24, 2012

गजल


एक्लो जोवन एक्लो यो मन बिरानो शहर 

अचानकै तिमीसंग नजिक हुने रहर 


न इच्छा भनूँ न बाध्यता भो भनूँ तिमीसंग 

किन एकतमास बढ्छ सम्झनाको लहर 


बिछोड लामो लाग्छ भेट निमेषभरको

गार्हो भयो बिताउन यो साँझ यो प्रहर 


कल्पनामा हराउने मन भयो त्यसै कस्तो 

पिउन दे'को तिमीले अमृत हो कि जहर 


एक्लो जोवन एक्लो यो मन बिरानो शहर 

अचानकै तिमीसंग नजिक हुने रहर