Pages

Tuesday, June 26, 2012

कविता


[ अनुष्टुप छन्दमा लेख्ने सानो प्रयास ] 
   ................................................             
तिमी निको हुँदै गयौ ,अनि दुख्न म थालेछु ,
मुक्त भयौ जहाँ तिमी, त्यहाँ डुब्न म थालेछु   
धेरैबेर तिमी पनि, उड्यौ होला कताकता ,
उस्तै नै छौ भने आज ,फर्क मेरा मनका राजा  

फूल बास्ना बिना कस्तो , म छु तिमी बिना त्यस्तो ,
आयो मायाँ पलाएर , अँगालोमा कसौं जस्तो   
तिम्रो निरास जीन्दगी, बन्छ भने हराभरा ,
सोचेकी छु तिमी संगै , दुख सुख बराबर  

Friday, June 22, 2012

गीत

खुशीले के गरूँ के गरूँ भो आज 
भोलि मेरा आउने रे मनका राजा 

निदाएर सुटुक्कै देखूँ कि सपना 
सम्झिएर रातैभरि गरूँ  कल्पना 
गाह्रो भो कसरी बिताऊँ यो साँझ 
भोलि मेरा आउने रे मनका राजा 

फूल भए फुलिदिन्थें बाटैभरि 
म उसको स्वागत गरूँ कसोगरी 
आशाको दियो बल्यो निराशाको माझ 
भोलि मेरा आउने रे मनका राजा 

खुशीले के गरूँ के गरूँ भो आज 
भोलि मेरा आउने रे मनका राजा 

Friday, June 15, 2012

कथा

      त्यसपछि म पनि जागिरे भनेका दुइजना दाजुहरुको आडमा बाँच्न थालें यस्तै थियो बुवाको आम्दानीले नभ्याउने भएपछि दाजुहरुको आशामा बस्नु हाम्रो विवशता थियो र ठूलाले सानालाई हेर्नुपर्छ भन्ने परिपाटी पनि थियो झैं लाग्छ । अहिलेका यी दाजुहरु पनि आफ्नो पालामा खुबै दुख पाएको कुरा आमाले भनिरहनुहुन्छ । म सानै हुँदा देखेका सुनेका ती पारिवारिक कुराहरु सम्झिंदा त्यतिखेरदेखिकै पीडा आज पो सहन नसक्नेगरी दुख्न थालेको छ  । 
       यति भनेपछि उसले मलाई हेरी । उसको आँखामा आँशु देखेको यो पहिलो पटक । ऊ रोई म दुखें । हाम्रो आत्मियता थियो बर्षौं पूरानो । हामी धेरै पूराना साथी । सबै कुरा मलाई थाहा छ म यहीं सोच्थें । दुख सुख कसलाई हुँदैन तर त्यहि सुखी जस्तो देखिने हाँसो भित्र पनि बेदनाहरु लुकेका छन् भन्ने कुरा मलाई पत्तै भएन । ऊ भन्न थालि - यसपाली मलाई तिहारमा जान मनै लागेको छैन । यो सुन्ने बित्तिकै मलाई नराम्रो लाग्यो सार्है ढिपी गरें तिमीले जानुपर्छ भनेर । तर आँखाभरी आँशु बनाउदै उसले पनि आफ्नो जिद्धि  छोडिन। किन जाने ? यति भन्नेबित्तिकै उसले अरु केहि भन्न सकिन, रोकिराखेको आँशु एकैचोटी पोखियो । म पनि महशुस गर्न सक्थें यस्तो निर्णय ऊ बिनाकारण गर्दै गर्दिनथी । भन्दै गई किन जाने ? कसको लागि जाने ? तिमीलाई थाहा छ आजकल मेरा दाजु म संग बोल्दैनन्। अब ऊ पूरै रोएर भन्न थालि मैले के गरें त्यस्तो म संग बोल्ने नहुने ? भन् मैले के गरिन मेरा दाजुको लागि । मैले जे गरें,गरिन तर मेरा दाजु यस्ता होलान् भन्ने मैले कुनै दिन सोचिन 
     हो , मैले मनमनै सहमति जनाएँ । पोहोरसाल दाजुको बिहेमा कत्रो खुशी कत्रो चुरुफुरु , के के न होला जस्तो , के के न पाउँला जस्तो । भन्थी पनि मेरा दाजु बिहे पछी त के कहिले पनि परिबर्तन हुदैनन् । दुई दुई दिनमा फोन आउथ्यो के खाइस्, खाजा के छ , ल्याएर टन्न राख् , टन्न खा , कति दुब्लाकी अलि मोटा , जाडोमा लाउने कपडा छ कि छैन , भाउजुले के भने , दाजुले के भने , कसैको चिन्ता नली,तेरो लागि म छु । उसले सुनाएका यी कुराहरु सम्झेर मेरो पनि यसपटक भक्कानो फुट्यो । आफूलाई सम्हाल्न खोजें तैपनि आँशु रोक्ने सकिन । ऊ भन्न थाली मेरो दाजुले बिहे भन्दा ४/५ महिना अगाडी जुनबेला मैले कोठा लिएकी थिएँ पहिलोपल्ट सबै भन्दा बढी पैसा दिएको र त्यसपछि के भनू ...कसरी चलाएँ बितेको समय कल्पना गर्न नसकेरै बितेका छन्  । तर पनि गुनासो थिएन , तेरो लागि म छु भनेकाले आँखा चिम्लें , यतिकै भएपनि पुग्छ -बाँच्छु भनेर मन दह्रो बनाएकी थिएँ । तर , तर आज ५ महिना भयो जाँदै आउंदै त गर्छु पैसा छ कि छैन भनेर सोध्लान् भन्छु कुनै पल्ट सोधेनन् । भन् मलाइ एक रुपैयाँ पनि कहांबाट आउछ भन् , उसको  छुवाईले मलाई पनि गाह्रो भयो 
    यसपालिको दशैं पनि सार्है अँध्यारो लाग्यो , सार्है आतिएँ, सार्है निरास लाग्यो ।बुवाआमाको आशा गर्ने बानी परेन , पैसा छैन भनेर जस्तै हुँदा पनि भनिएन तर यसपटक मैले बुवालाई सम्झें , बुवा पैसा चाहियो भन्न मन लाग्यो त्यो रात यति रोएँ शायद त्यो रातको जस्तो नमीठो रुवाइ जीन्दगीमा फेरी रुंला नरुंला । आँशु पुछ्दै उसले भनि मेरो दाजुको हरेक खुशीमा खुशी हुँदै आएँ  मलाई परिवारको सबै सदस्यहरुमध्य आशा लाग्ने , मनको कुरा बुझ्ने उही एउटा दाजुलाइ सम्झेकी थिएँ  सार्है मायाँ गरेको जस्तो पनि लाग्थ्यो खै त्यो मायाँ ! खै त्यो दाजु ?  अवरुद्ध गलाबाट निस्केको उसको यो दुई वाक्यले मेरो मन अमिलो भएर आयो  तिहार  चाडपर्बको बेला आफ्नो घर ,आफ्ना मान्छेको सम्झना हुँदोरैछ , अरुबेला त जसो तसो बसिन्थ्यो , सार्है गाह्रो भको छ  सबैले सोध्छन कहिले जाने , किन नगको यो प्रश्नको जवाफ म कसरी दिउँ? 
    धेरै कुराले मन दुखिरह्यो तर जब सयपत्री , मखमली फूल हेर्न थाल्छु अनि जाउँ जस्तो लाग्छ । मलाई पनि मेरा दाजुलाई तेलको घेराले छेकेर फूलमालाले पुजेर सुखशान्तिको कामना गर्ने किन रहर छैन ? तर म जति भावनामा डुब्छु त्यति रुन्छु , अस्ति पनि नजाने निर्णय गरेकी थिएँ , गएँ त्यसको बदलामा मेरा दाजुले आजसम्म रुवाइरहे । किन बैनीको मायाँ लाग्दैन , भाउजुले लगेपछि हामी दाजुको अवशेष केहि पाउदारहेनछौं । यो सम्झिदा त आफूलाई पनि कसैको भाउजु बनाउने रहर हराएर जान्छ । उसले भाउजु भन्नेबित्तिकै धेरै कुरा मनमा आए , एउटा कुरा सोधुँ सोधुँ जस्तो लागेको थियो तर ममा त्यो सहासै भएन शायद ऊ पनि केहि भन्नै चाहन्नथी 
    दाजुभाई भनेका बिहे नहुन्जेलसम्म मात्रै आफ्ना हुँदा रैछन तर हामी उनीहरु बिना अधुरै रहन्छौं । कस्तो फरक रहेछ , कस्तो म हुदोरहेछ । मेरो यो शहरमा हिड्ने र बाँच्ने आधार नै सकिए जस्तो लाग्छ । यतिखेर मैले उसको आँखामा आँशु देखिन , शायद रुनुको पनि सीमा हुन्छ होला । ऊ भन्दै गई मेरा दाजु सार्है बुझ्ने हुन् , मनै भित्रको कुरा पनि अड्कल काट्न सक्ने । त्यस्ता मान्छेले बेवास्ता किन गर्छन् र कसरी गरे ? सोचिरहने पर्दैन ।यो बिरानो सहरमा एकदिन कति गाह्रो ,पांच महिना कसैको वास्ता बिना बाँचें र अब त लाग्छ म एक्लै पाचै युग बिताउन सक्छु । दाजु बहिनीको स्नेहमा फुल्दोरैच मखमली ,सयपत्री , स्नेह नै नभए के को चाडपर्ब , के को फूलमाला के को आशिर्बाद के को हाँसो खुशी , के को चुरुफुरु । उसले यसो भानिरंदा मैले आफ्नो चित्त पनि बुझाइसकेकी थिएँ , मेरी आमाले धन्य ! मलाई दाजु भाइ दिनुभएको थिएन । 
                                                                                                      २०६५-७-१२ 

Thursday, June 7, 2012

कविता

       के उपमा दिऊँ     

भगवानको कलाकारिता देखेर 
एकछिन त म पनि छक्क परें,
बर्षौं लगाएर कुँदिएको 
मूर्तिकारको  मूर्ति थियो कि 
फूल थियो सुन्दर बगैंचाको 
आकास हेर्दा देखिने तारा थियौ कि 
जून खस्यो धर्तीमा !
के उपमा दिऊँ 
कुन शब्दले तारिफ गरूँ 
अवाक् रहेँ म 

तिमी हिंड्दै थियौ 
मेरो आँखाको अगाडिबाट 
Add caption
मानौं, मेरो आँखैभित्रबाट 
तर
तिमीलाई मैले कैद गर्न सकिन 
म चाहन्थें ,
तिम्रो तारिफ कमसेकम 
म गर्न सकूँ
या तिमीले सुनिदेऊ 
फेरी, त्यस्तो सम्भब कहाँ थियो 
म अझ मौन हुनुपर्थ्यो 
यतिसम्म कि तिमीले 
फर्केर हेरिदिंदा मेरो 
आँखा नजुधोस्,
म हुर्केको संस्कारले दिएन
मेरो दिमागले दिएन 

नत्र 
के चुप रहन्थ्यो ?
त्यो केटा, जसको आँखाबाट 
एउटी सुन्दरी हिंडिरहेकी हुन्थी,
तिमी त आयौ गयौ 
के फरक पर्यो होला र 
मलाई भने 
आफ्नो सुन्दरताले मर्माहत 
बनाइदियौ 
हो साँच्चै ,
हलचल भएको छ मन 

Saturday, June 2, 2012

गजल

आफैंलाई मिटाई मायाँ गर्ने मैं उस्ती 
होइनौ बेइमान तिमी भर पर्ने मैं उस्ती 

फूल सम्झी शीरमा सजाउँला भन्थे कति 
तिम्रै लागि भनि पाउमा झर्ने मैं उस्ती 

छेउमै घडा अमृत थियो वास्ता भएन
एकै थोपो बिषको लागि मर्ने मैं उस्ती 

हाँसेरै दिन काट्थें होला एक्लै बरु म 
कठैबरा यी आँखामा आँशु भर्ने मैं उस्ती 

आफैंलाई मिटाई मायाँ गर्ने मैं उस्ती 
होइनौ बेइमान तिमी भर पर्ने मैं उस्ती