Pages

Wednesday, May 30, 2012

गजल



मनभरी तिम्रो मात्रै तस्बिर छाउन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

एक्लो बनाएर तिमीले कहिले छोडी जाँदाखेरी 
मलाई साथी गुमेको भान हुन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

छैन भनि तिम्रो मायाँ अभिनय कति गर्नु 
बिछोडमा यहाँ मेरो मन रुन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

तिम्रो चाहनाले भोलि पर्सि मलाई सताउंदा
आत्माले नै तिमी आफ्नो बनाउन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

मनभरी तिम्रो मात्रै तस्बिर छाउन थाल्यो भने 
कसलाई भन्नु तिम्रो याद आउन थाल्यो भने 

गजल

गए झैं भो माथि तलै झार्यौ आज 
फेरी यो शहरमा एक्लै पार्यौ आज 

कसरी खानु बस्नु हिड्नु तिमीबिना 
सम्झिएर रुन्छ मन जिउदै मार्यौ आज 

तिमी त रमझममा छैनौ होला यस्तो 
मलाई सहि नसक्ने व्यथा सार्यौ आज 

सोच्न नै सक्दिन छोडी गयौ भनेर 
बाध्यताले म हारें तिमी हार्यौ आज 

गए झैं भो माथि तलै झार्यौ आज 
फेरी यो शहरमा एक्लै पार्यौ आज 

Friday, May 25, 2012

गीत


पहिले पहिले जस्तो मायाँ लाग्यो कि लागेन
टाढा बस्दा मेरो याद आयो कि आएन


पानी बिना माछाले झैं बस्न नसकेर
आऊ भनुँ भनुँ लागेथ्यो सबै भुलेर
मलाई जस्तो तिमीलाई भयो भएन
टाढा बस्दा मेरो याद आयो कि आएन


छुटेको तिमीसंग सोच्दा घरीघरी
सम्हालिनै नसकेर रुन्थें रातैभरि
त्यतिखेर तिम्रो मन रोयो कि रोएन
टाढा बस्दा मेरो याद आयो कि आएन


पहिले पहिले जस्तो मायाँ लाग्यो कि लागेन
टाढा बस्दा मेरो याद आयो कि आएन



गीत




हाँस्ने र हँसाउने रुने रुवाउने 
आए गए कति यो मन छुवाउने 
तर भयो महशुस मायाँको आज 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 


तिम्रो रुप देखी तारिफ कसको गरुम भो 
भगवानको पाउ परुम कि तिम्रै परुम भो 
छिनको छिनमै यो दिलमा गरिगयौ राज 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 


अचम्म भो फूल हेरें कि त्यो मुस्कान हेरें मैले 
मायालु मनै मन अंगालोमा बेरें मैले 
लेखेको थियो सायद भेट हुन यो साँझ 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 


हाँस्ने  र हँसाउने रुने रुवाउने 
आए गए कति यो मन छुवाउने 
तर भयो महशुस मायाँको आज 
बसिहाल्यौ तिमी मेरो मुटुको माझ 

Thursday, May 24, 2012

गजल


एक्लो जोवन एक्लो यो मन बिरानो शहर 

अचानकै तिमीसंग नजिक हुने रहर 


न इच्छा भनूँ न बाध्यता भो भनूँ तिमीसंग 

किन एकतमास बढ्छ सम्झनाको लहर 


बिछोड लामो लाग्छ भेट निमेषभरको

गार्हो भयो बिताउन यो साँझ यो प्रहर 


कल्पनामा हराउने मन भयो त्यसै कस्तो 

पिउन दे'को तिमीले अमृत हो कि जहर 


एक्लो जोवन एक्लो यो मन बिरानो शहर 

अचानकै तिमीसंग नजिक हुने रहर 

Saturday, May 19, 2012

गजल

    भन न साँच्चै


कस्तो रैछ मन मेरो भनि जाँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

कसैले नदिने मायाँ दिन्छु भनेर 
भन्यौ तिम्रै लागि यो जोबन साँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

छिन छिनमै बदलिने मनको के भर 
टुट्न सक्छ नछुटिने नाता गाँसेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

तिमी बिना मर्छु भन्नु बहाना हो कि 
बाचा यता हौला कसको लागि बाँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

कस्तो रैछ मन मेरो भनि जाँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

गीत


तिम्रै लागि उब्जेको यो मायाँ के गरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

जन्मजातै जोडिएको भन्छन् हाम्रो नाता
छुट्ने कुरा आफैंले नै ल्यायौ कहांबाट
हाँस्दै चढ़या शिखर कसोगरी झरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

आँखा चिम्ले आँखा खोले आँउछौ आँखैमा
कसरी हो भुल्नु मैले बसेको काखैमा
सहास छैन तिमी बिना जंघार तरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

यति चोखो मीठो मायाँ जाल तोड्यौ भने
पागलै हुन्छु कसम मलाई छोड्यौ भने
प्राणको टुक्रा भनि कसको पाउ परौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

तिम्रै लागि उब्जेको यो मायाँ के गरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

गीत



तिम्रो आँखामा संसार देख्ने रहर भो 
कि त थप्देऊ अझै चोट लेख्ने रहर भो 


हेरिदिँदा फर्की तिमीले घायल म हुन्छु 
गए ज्यानै जाओस् बोल्देऊ बोली सुन्छु 
तिम्रो मनको संघारमा टेक्ने रहर भो 
कि त थप्देऊ अझै चोट लेख्ने रहर भो 


मौनता तोडेर छर्देऊ मीठो मुस्कान 
बदलामा मेरो हजुर लगे लैजाऊ प्राण
तिम्रो भागको दुख सारा छेक्ने रहर भो 
कि त थप्देऊ अझै चोट लेख्ने रहर भो 


तिम्रो आँखामा संसार देख्ने रहर भो 
कि त थप्देऊ अझै चोट लेख्ने रहर भो